कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने चालिसेले बताए ।

बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र साङ्गठनिक कार्यसूचीसहितका एजेन्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले बताए ।

महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु यस बैठकको अर्को मुख्य एजेन्डा रहेको छ। देशभरका विभिन्न जिल्ला र क्षेत्रमा देखिएका क्रियाशील सदस्यता सम्बन्धी उजुरी र विवादलाई टुङ्ग्याएर महाधिवेशनको सुनिश्चितता गर्ने तयारीमा कांग्रेस लागेको छ।

पार्टीभित्रको आन्तरिक एकता कायम गर्दै महाधिवेशनमा सबै तहका नेता तथा कार्यकर्ताहरूले निर्धक्क र उत्साहजनक रूपमा भाग लिन सक्ने समावेशी वातावरण निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी