ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।

आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताए । केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण समग्र संगठनले बदनामी भोग्न नहुने उनको भनाइ छ ।

कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने नागरिकलाई चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजुरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताए ।

उनले भने, “अब बोलीमा शुद्धता हुनुपर्‍यो, व्यवहारमा नम्रता हुनुपर्‍यो र आर्थिक सुशासन हुनुपर्‍यो । कसैसँग आर्थिक प्रलोभनमा पर्ने वा आर्थिक लाभ लिने काम हुनुहुँदैन ।”

ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनले बताए ।

गजुरेलले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । राष्ट्रिय यातायात नीति, २०८३ मा सुधारका विषय समेटिएको उल्लेख गर्दै उनले अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको उनले स्पष्ट पारे । जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गरिने उनको भनाइ छ ।

नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा गजुरेलले जोड दिए । काठमाडौंलगायत विभिन्न ठाउँमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुन सक्ने उल्लेख गर्दै उनले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

“नियम थाहा नभएर नियम मिच्न पाइँदैन । तर जरिवानाको कुरा, प्रविधिमा विकास गर्ने कुरा र जनचेतनाको कुरा पनि हामीले अगाडि बढाउनुपर्छ,” उनले भने ।

ट्राफिक प्रहरीलाई अधिकार र सेवा–सुविधा उपलब्ध गराउनेसँगै नागरिकप्रतिको व्यवहार र कर्तव्य निर्वाहमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी