काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्नु र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठुलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै सभापति ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताए । अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको उनको भनाइ छ ।
विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यावहारिक कठिनाइलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेको बताए ।
प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै ढकालले प्रधानमन्त्री एक्लै नरहेको र वर्तमान कार्यकालमा जनतामा सबैभन्दा ठुलो विश्वास पैदा हुने गरी काम गर्नुपर्ने बताए ।
उनले भने– ‘प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे, एक्लै होइन, हाम्रो यो कार्यकालमा सबैभन्दा ठुलो चिज विश्वास जगाउनु पर्नेछ । एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन । एकैचोटी सुशासन आउँदैन ।’
देशको सुशासन र समृद्धिको यात्रा पनि समय र धैर्यता माग्ने विषय भएको उनले बताए । ‘वर्षात सकिने बित्तिकै नदीहरू तत्कालै सङ्लो हुँदैनन् । साउन–भदौमा वर्षा सकिए पनि कोशी, गण्डकी र कर्णाली जस्ता ठुला नदीहरू सङ्लो हुन असोज अन्तिम वा कात्तिक नै कुर्नुपर्छ,’ उनले भने ।
ढकालले लामो समयदेखि नागरिकले भोग्दै आएको समस्या समाधान गर्न नसकेको यथार्थलाई स्वीकार गर्नुपर्ने बताए । ‘त्यो बाटो हिँड्दा ग्यासको लाइन देख्दा मलाई निकै पोल्छ । लामो समयदेखिको त्यो समस्या समाधान गर्न नसकेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । कतिपय ठाउँमा काम गर्न नसकिएको विषय लुकाउनु हुँदैन,’ उनले भने ।
नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै ढकालले सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने बताए ।
विगतका सबै काम नराम्रा नभएको उल्लेख गर्दै उनले राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताए ।





