काठमाडौँ । साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। वर्षा भइरहे पनि शिवभक्तहरू लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा दर्शन गरिरहेका छन्।
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएका छन्। गौशाला, जयवागीश्वरी, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ। गौरीनगरसम्म लाम पुगेको छ।
भक्तजनको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरीलगायतका सुरक्षाकर्मी तथा विभिन्न सङ्घ–संस्थाले सेवा दिइरहेका छन्। सवारी व्यवस्थापनका लागि गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
बिहान ३ बजेदेखि खुलेका मन्दिरका चारै ढोका बेलुकी आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि बिहानैदेखि लाम लागेको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
पशुपतिनाथबाहेक गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेवसहित देशभरका ठूला–साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।














