काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले फरक उद्देश्य र कानुनी संरचना भएका नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी लिमिटेड लाई गाभ्ने सरकारको निर्णयको विरोध गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले दुवै संस्थाको कार्यक्षेत्र, प्रकृति र कानुनी हैसियत फरक रहेको भन्दै एकीकरण तर्कसंगत नभएको बताए।
उनका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति विश्व बैंकको प्राविधिक अध्ययनका आधारमा नेपालको इन्टरमोडल यातायात प्रणाली विकासका लागि स्थापना गरिएको वैधानिक तथा विशिष्टीकृत संस्था हो। नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी भने सरकारको पूर्ण स्वामित्वमा रहेको व्यावसायिक कम्पनी हो।
“यी दुई संस्थाको उद्देश्य र कानुनी हैसियत नै फरक छ, यिनलाई एकै ठाउँमा गाभ्नु तर्कसंगत छैन,” उनले भने।
कम्पनीमा व्यवस्थापकीय, व्यावसायिक वा रणनीतिक समस्या भए सुधार तथा सुदृढीकरणमार्फत समाधान गर्नुपर्ने बताउँदै कार्कीले विशिष्टीकृत संस्थालाई नै कमजोर बनाउने गरी एकीकरण गर्न नहुने धारणा राखे।
उनले सरोकारवालासँग परामर्श र आवश्यक अध्ययनबिनै हतारमा दुई संस्था गाभ्ने निर्णय गरिएको भन्दै प्रश्न उठाए। “सरकारले कसको व्यक्तिगत फाइदाका लागि यस्तो कदम चाल्दैछ?” भन्दै उनले मन्त्रिपरिषद्को निर्णयमाथि तत्काल पुनर्विचार गर्न माग गरे।
कार्कीले दुवै संस्थाको कानुनी, प्राविधिक र आर्थिक पक्षको स्वतन्त्र अध्ययन गरी सम्बन्धित सरोकारवालाको सुझाव लिएर मात्र अन्तिम निर्णय गर्न सरकारलाई आग्रह गरे।
उनले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपालको विशिष्टीकृत इन्टरमोडल यातायात विकास प्राधिकरणका रूपमा सुदृढ गर्न तथा नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनीलाई व्यावसायिक सुधारमार्फत सक्षम बनाउन पनि माग गरे।





