ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट सन्यास लिन्छु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफू संसद्मा आफैलाई अग्निपरीक्षा दिन उभिएको बताए।

उनले भने, ‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारणले आफूले पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास नेपाली राजनीतिमा जीवितै छ। आज त्यस्तै अवस्था म माथि आइपरेको छ। ‘खाइ न पाइ छालाको टोपी लाई’ भन्ने उखान चरितार्थ भएको छ। आज म माथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए’ भन्ने आरोप लगाइएका छन्।’

उनले आफ्नो स्वास्थ्य जाँच गर्न आग्रह गरे।

उनले थपे, ‘यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मीसहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु। म राजीनामा दिन तयार छु।’

उनले आफूविरुद्ध भ्रम फैलाउनेहरूको पनि स्वास्थ्य परीक्षण गर्न माग गरे।

उनले भने, ‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु।’
उनले भ्रम फैलाउनेलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्