नयाँ सर्जक तथा गायक समसेर पुनको ‘मनपर्ने मान्छे’ सार्वजनिक (भिडियो)

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ साउन, काठमाडौं । स्वर्गद्वारी नगरपालिका–१, कोचिबाङ, प्युठानका सर्जक तथा गायक समसेर पुनको नयाँ तीज गीत ‘मनपर्ने मान्छे’ सार्वजनिक भएको छ। पुनकै शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियार र समसेर पुनको स्वर रहेको छ।

गीतको भिडियोमा गीता ढुंगाना र सुरेस कोहलीले अभिनय तथा नृत्य गरेका छन् भने प्रकाश भट्टले निर्देशन गरेका छन्। गीतको छायांकन अजय रेग्मी, सम्पादन तथा कलर प्रबिन भट्ट र मेकअप गीत तामाङले गरेका छन्।

गीत सार्वजनिक गर्दै पुनले आफ्नो सांगीतिक यात्राका संघर्ष र अनुभव पनि सुनाएका छन्। वि.सं. २०४९ साल भदौ २४ गते धनिराम पुन र झगी पुनको कोखबाट स्वर्गद्वारी नगरपालिका–१ कोचिबाङमा जन्मिएका पुनलाई बाल्यकालदेखि नै लोकसंगीतप्रति विशेष रुचि थियो।

सानै उमेरमा घरमा लोकगीत गुनगुनाउने गरेको स्मरण गर्दै पुनले आफूलाई गीत गाउनबाट रोक्ने प्रयाससमेत हुने गरेको बताए। उनका अनुसार परिवारका ज्येष्ठ सदस्यहरूले ‘गीत गाउने मान्छेको भाग्य राम्रो हुँदैन’ भन्दै गीत नगाउन सम्झाउने गर्थे। तर संगीतप्रतिको मोह भने उनको मनबाट हटेन।

गायक बन्न २०६७ सालमा घर छाडेर काठमाडौं

गायक बन्ने सपना बोकेर पुन वि.सं. २०६७ सालमा घरबाट काठमाडौं आएका थिए। काठमाडौं आएपछि नयाँ बसपार्कस्थित शुभबिहानी गेस्ट हाउसमा काम सुरु गरेका उनले त्यहाँ करिब पाँच वर्ष काम गरे।

त्यसपछि आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउने क्रममा उनले २०७२ साल वैशाख ११ गते काठमाडौं डिजिटल, नयाँ बजारमा आफ्नै शब्द तथा संगीतमा ‘चोखोमाया’ बोलको गीत रेकर्ड गरे। तर गीत रेकर्ड गरेको भोलिपल्ट अर्थात् वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण उनको पहिलो गीतले पूर्णता पाउन सकेन।

पुनका लागि त्यो घटना सांगीतिक यात्राको सुरुवातमै आएको ठूलो धक्काजस्तै बन्यो। गीत मिक्सिङ हुन नपाउँदै भूकम्प आएपछि उनले उक्त गीत बाहिर ल्याउन सकेनन्।

पटक–पटकको असफलताबीच संगीतप्रतिको मोह कायमै

पुनले २०७४ सालमा आफ्नै शब्द तथा संगीतमा ‘ट्युसन पढाउँछु’ बोलको गीत गायिका टीका पुनसँग गाए। तर उक्त गीतको भिडियो निर्माणका क्रममा आफू ठगिएको उनको गुनासो छ। भिडियोप्रति असन्तुष्ट भएपछि उनले भिडियो नै हटाउनुपरेको बताए।

त्यसपछि २०७८ सालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘नेपालै रुमाको’ बोलको गीत सार्वजनिक गरे। उक्त गीतको भिडियो निर्माणमा पनि आफूले अपेक्षाअनुसार काम नपाएको पुनको भनाइ छ।

“मैले पैसा लगानी गर्ने, लोकगीत–संगीतलाई माया गरेर सिर्जना गर्ने, तर अन्तिममा मेरै बेइज्जत हुने अवस्था आयो,” पुनले आफ्नो विगत सम्झँदै भने।

पटक–पटकको निराशाजनक अनुभवका बाबजुद पनि उनले संगीत छाडेनन्। अहिले भने उनले ‘मनपर्ने मान्छे’ मार्फत आफ्नो सांगीतिक यात्रालाई नयाँ ढंगले अगाडि बढाउने प्रयास गरेका छन्।

‘मनपर्ने मान्छे’ बाट नयाँ आशा

‘मनपर्ने मान्छे’ पुनको आफ्नै शब्द, संगीत र स्वरमा तयार भएको गीत हो। गीतमा लोकप्रिय गायिका शान्ति श्री परियारले स्वरमा साथ दिएकी छन्। भिडियोमा गीता ढुंगाना र सुरेस कोहलीको अभिनय तथा नृत्य देख्न सकिन्छ।

पुनले यसपटक भने आफूले अनुभवी कलाकार तथा प्राविधिक टोलीसँग काम गरेको बताएका छन्। निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोले दर्शकको माया पाउने उनको अपेक्षा छ।

“दुःख लाग्छ, राम्रा गीतहरू नचल्दा। तर संघर्ष र निराशाले संगीतप्रतिको मेरो माया घटेको छैन,” पुनले भने।

लोकसंगीतलाई निरन्तरता दिने अठोट बोकेका पुनका लागि ‘मनपर्ने मान्छे’ केवल नयाँ गीत मात्र नभई वर्षौंदेखि बोकेको सांगीतिक सपनालाई अगाडि बढाउने अर्को प्रयाससमेत बनेको छ।

पुरा भिडियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी