काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि साउन २९ देखि ३१ गतेसम्म तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउन प्रशिक्षण दिन लागिएको रास्वपा सचेतक क्रान्तिशिखा धितालले जानकारी दिनुभएको छ। उहाँका अनुसार ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम हुनेछ।
यसअघि दुईपटक प्रशिक्षण दिइसके पनि अपुग भएकाले तेस्रोपटक कार्यक्रम आयोजना गर्न लागिएको धितालले बताउनुभएको छ। सांसदहरूको सुझाव र आवश्यकताअनुसार पार्टीको नीति तथा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयलाई केन्द्रमा राखेर प्रशिक्षण दिइने उहाँको भनाइ छ।
यसअघि रास्वपाले २०८२ साल चैत ३ र ४ गते तथा वैशाख २६ र २७ गते पनि सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।





