धवलशम्शेर समूहले साउन २९ गते ‘जय नेपाल पार्टी’ दर्ता गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राप्रपाबाट अलग भएको डा. धवलशम्शेर राणाको समूहले साउन २९ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ नाममा नयाँ दल दर्ता गर्ने भएको छ।

धवलशम्शेर समूह र राजावादी व्यवसायी दुर्गा प्रसाईं समूहबीच यसअघि पार्टी एकताको घोषणा भए पनि पार्टी दर्ता हुनुअघि नै विवाद देखिएको छ। नेतृत्वको वरीयता, अधिकार बाँडफाँट तथा चुनावमा टिकट वितरणको विषयमा दुई पक्षबीच मतभेद भएको हो।

धवल पक्षका नेता मुकुन्दश्याम गिरीले २९ गते पार्टी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। दुर्गा प्रसाईं पक्षका नेता माधव कल्पितले भने सहकार्य टुटिनसकेको र अझै पनि दुवै पक्ष मिलेर पार्टी दर्ता गर्ने सम्भावना रहेको बताएका छन्।

दुई पक्षबीच १०१ सदस्यीय केन्द्रीय समिति बनाउने समझदारी भएको थियो। जसमा धवल समूहबाट ४०, प्रसाईं समूहबाट ४० र अन्य समूहबाट २० जना समेट्ने सहमति थियो।

प्रस्तावित अध्यक्ष धवलशम्शेर राणाकी प्रेस संयोजक राधिका जोशीले भने दुर्गा प्रसाईंका पछिल्ला अभिव्यक्तिका कारण संस्थागत सहकार्यको वातावरण बिग्रिएको बताएकी छन्। उनका अनुसार पार्टी दर्ताका लागि साउन २९ गते दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा समय लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी