प्रहरीका सामान खरिदमा अनियमितता भएको भन्दै तत्काल छानबिन गर्न सांसद सुनारको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।

लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि समेत प्रश्न उठिसकेको अवस्थामा आरोपित पदाधिकारीलाई जिम्मेवारीमै राखेर छानबिन गर्न नहुने बताउनुभयो। उहाँले आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट अलग गरी निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गर्नुभयो।

प्रहरीका लागि खरिद गरिने सामानमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गरिब तथा निम्न वर्गबाट भर्ती भएका प्रहरी र म्यादी प्रहरीमाथि पर्ने उहाँको भनाइ छ। ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको हुनसक्ने भन्दै प्रहरी कर्मचारी तथा ठेकेदारबीचको सम्भावित सम्बन्ध र मिलेमतोबारे समेत अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो।

सांसद सुनारले प्रहरी खरिदसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा समेत परेको भन्दै निष्पक्ष छानबिनको माग गर्नुभयो। तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवारीबाट अलग गरी अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ।

आरोपित व्यक्ति पदमै रहँदा छानबिन प्रभावित हुनसक्ने भन्दै सुनारले सम्बन्धित ठेकेदार र प्रहरी अधिकारीबीचको सम्भावित सम्पर्क तथा आर्थिक कारोबारलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी