काठमाडौं । नेकपा एमालेभित्र नीति, पद्धति र संगठनात्मक सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुझाइएको पत्रमा पार्टी नेतृत्वको कार्यशैली, निर्वाचनमा भएको पराजयको समीक्षा र संगठनात्मक सुस्तताप्रति गम्भीर प्रश्न उठाइएको छ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको पत्रमा निर्वाचन सम्पन्न भएको करिब ६ महिना पुग्न लाग्दा समेत केन्द्रीय कमिटीको बैठक बस्न नसकेको विषयलाई चिन्ताजनक भनिएको छ। निर्वाचनमा भएको पराजयको वस्तुनिष्ठ समीक्षा गरी पार्टीमा नयाँ उत्साह भर्नुपर्ने समयमा नेतृत्वले बैठक टार्दै आएको अभियानको आरोप छ।
अभियानले एमालेले जनताको विश्वास गुमाउँदै गएको दाबी गर्दै सरकारका नीति र शासन सञ्चालनप्रति समेत असन्तुष्टि जनाएको छ। साथै, पार्टीद्वारा गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गरी छलफलमा ल्याउन माग गरिएको छ।
अभियानले निर्वाचन समीक्षा प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने, निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा गर्नुपर्ने तथा पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका बनाउनुपर्ने माग गरेको छ।
यस्तै, कमिटी प्रणाली र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउँदै व्यक्तिभन्दा नीति र विधिलाई प्रधानता दिनुपर्ने अभियानको माग छ। आफूहरू पार्टी फुटाउने पक्षमा नभई एमालेभित्रै विधि र पद्धति स्थापित गर्ने पक्षमा रहेको अभियानले स्पष्ट पारेको छ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीमार्फत पत्र दर्ता गराइएको हो। अभियानका अगुवाहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार र नविना लामालगायतले पार्टी कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए।





