राणा–प्रसाईं सहमति भंग, दल दर्ताअघि नै छुट्टिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईं पक्षबीच पार्टी गठनका विषयमा सहमति जुट्न नसकेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै उनीहरू अलग भएका छन्।

दुवै पक्षले ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति गरेका थिए। सहमतिअनुसार धवलशमशेर राणा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने भनिएको थियो। तर पार्टी दर्ताको प्रक्रिया अघि बढाउने क्रममा नेतृत्व र अन्य विषयमा विवाद भएपछि सहमति भंग भएको हो।

राणा पक्ष आजै निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारीमा छ। उता, प्रसाईं पक्षले भने छुट्टै कार्यक्रम आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईं निकट माधव कल्पितका अनुसार कार्यक्रम कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजना गरिएको छ।

‘भदौ ५ गतेसम्म पर्खन तयार भएनन्’

प्रसाईं पक्षका कल्पितका अनुसार भदौ ५ गते पार्टी दर्ताका लागि उपयुक्त साइत रहेको भन्दै त्यसबेलासम्म पर्खिन आग्रह गरिए पनि राणा पक्ष त्यसका लागि तयार भएन।

‘हाम्रो ध्यान गरिब, निमुखा जनता बचाउनेतर्फ हो। लघुवित्त र बैंक पीडितहरू खाली खुट्टा काठमाडौं आइरहेका छन्। उनीहरूलाई पर्खौं भन्ने हाम्रो आग्रह थियो,’ कल्पितले भने, ‘तर त्यसलाई मान्नुभएन। आफैंले नेता बनाएर दल दर्ता गर्ने प्रक्रियामा लाग्नुभयो।’

प्रसाईंले छुट्टै पार्टी गठन गर्ने

दुई पक्षबीच सहमति नजुटेपछि प्रसाईंले छुट्टै राजनीतिक दल गठन गर्ने बताएका छन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत गरिबीको रेखामुनि रहेका नागरिक, उत्पीडित वर्ग, भूमिहीन तथा सुकुम्बासी र लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजबाट पीडित नागरिकको मुद्दा उठाउने दाबी गरेका छन्।

उनले अब गठन हुने पार्टीलाई सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी बनाउने बताएका छन्। प्रसाईंले प्रस्तावित पार्टीले पीडित, शोषित तथा उत्पीडित वर्गको हक, अधिकार र न्यायका लागि काम गर्ने दाबीसमेत गरेका छन्।

यसअघि नयाँ पार्टीको विधान तयार गर्न संयोजक तोकिएका माधव कल्पितले दुई दिनअघि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको बताएका थिए।

उम्मेदवारको हस्ताक्षर अधिकारमा विवाद

राणा पक्षका एक नेताका अनुसार विवादको मुख्य कारण निर्वाचनका बेला उम्मेदवार छनोट तथा हस्ताक्षरको अधिकारसम्बन्धी विषय बनेको थियो।

उनका अनुसार प्रसाईं पक्षले निर्वाचनका बेला उम्मेदवारको मनोनयनमा हस्ताक्षर गर्ने अधिकार मागेको थियो। ‘सभापतिको अधिकार सबै लिन खोजेपछि सहमति जुट्न सकेन,’ राणा पक्षका ती नेताले भने।

यससँगै जय नेपाल पार्टी गठन गर्ने भनिएको प्रारम्भिक सहमति कार्यान्वयनमा नआउँदै राणा र प्रसाईं पक्ष अलग भएका छन्। अब दुवै पक्षले छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी