गगन थापाको नेतृत्वमा कांग्रेस थप बलियो बन्छ : विश्वप्रकाश शर्मा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषयहरू संवाद, संविधान, कानुन र पार्टी विधानका आधारमा समाधान हुने विश्वास व्यक्त गरे।

उनले सभापति थापाले पार्टीका सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रयास गरिरहेको बताए। देशभरका नेता–कार्यकर्ताले व्यक्त गरेको भावना र दृढताका आधारमा कांग्रेसको आगामी यात्रा अझ मजबुत हुने उनको भनाइ छ।

शर्माले भने, ‘सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ। देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने जे हाम्रो सङ्कल्प छ, त्यो अबको दिनमा अझ बलियो भएर जान्छ।’

राजनीतिक विषयको समाधान राजनीतिक प्रक्रियाबाटै खोजिनुपर्नेमा जोड दिँदै उनले कांग्रेसले संविधान, कानुन, पार्टी विधान, इतिहासको निरन्तरता र कार्यकर्ताको भावनालाई आधार बनाएर राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताए।

सर्वोच्चको फैसलापछि समाधान खोज्ने प्रयास

शर्माले सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि त्यसलाई पार्टीभित्र कसैको जित वा हारका रूपमा नलिएर समाधान खोज्ने प्रयास गरिएको बताए।

फैसला आएको ४८ घण्टा नपुग्दै सभापति गगन थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गरेको उनले स्मरण गरे।

त्यसपछि पनि विभिन्न नेताहरूसँग पटक–पटक छलफल गरिएको र पार्टी एकताका लागि जेठ १६ गते सातबुँदे प्रस्ताव लिखित रूपमा नेताहरूसमक्ष पठाइएको शर्माले जानकारी दिए।

‘संवादका लागि हामी खुला छौँ’

सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको शर्माको दाबी छ।

उनले पार्टीभित्र देखिएका मतभेदलाई संवादबाटै समाधान गर्न आफूहरू तयार रहेको बताए।

‘भेला सकिएपछि हामी संवाद गर्नेछौँ। भेला सकिँदासम्म हाम्रो बैठक चल्न सक्छ। हामी संवादका लागि खुला छौँ। यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो आत्मसाथ गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ,’ शर्माले भने।

कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र गुटगत गतिविधिबीच शर्माको पछिल्लो अभिव्यक्तिलाई पार्टी एकता कायम गर्दै अघि बढ्ने प्रयासका रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्