काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगनकुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन्।
शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाले यसअघि ५५ वर्षपछि राजनीति छाड्ने बताएको विषय स्मरण गराउँदै यस्तो चुनौती दिएका हुन्।
‘युवा युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ, हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ । उहाँले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने।
नियमित निर्वाचन भए आगामी निर्वाचनसम्म थापा ५५ वर्ष कटिसक्ने दाबी गर्दै बस्नेतले थापाले सार्वजनिक रूपमा कांग्रेसको नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने बताए।
‘यदि बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने तपाईं सार्वजनिक रूपमा कांग्रेस कसले डोर्याउन सक्छ, तपाईं जिम्मा लगाउनुस्,’ उनले भने।
बस्नेतले कांग्रेस अहिले थापाको नेतृत्वमा नचलेको समेत टिप्पणी गरे। उनले पार्टीको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै कांग्रेस कमजोर बन्दै गएको दाबी गरे।
‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ,’ बस्नेतले भने।
उनले यसअघिको कांग्रेस नेतृत्वको उपलब्धि स्मरण गर्दै शेरबहादुर देउवाको नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा पार्टीले बहुमत हासिल गरेको दाबीसमेत गरे। राष्ट्रिय सभामा समेत तत्कालीन नेतृत्वको प्रयासबाट बहुमत पुगेको उनको भनाइ थियो।





