गगन थापालाई कृष्णप्रसाद सिटौलाको सुझाव– ‘गल्ती सच्याउने अवसर अझै छ’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्ना गल्ती सच्याएर अघि बढ्न सुझाव दिएका छन्।

शुक्रबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिटौलाले हठका कारण इतिहासमा ठूला शासकहरूको पतन भएको स्मरण गराउँदै थापालाई समयमै आफ्ना गल्ती सच्याउन आग्रह गरेका हुन्।

‘मानिसको जीवनमा गल्ती हुन्छ, तर त्यसलाई सच्याउन सक्नुपर्छ। दुनियाँमा ठूलाठूला शासकहरू आफूले गरेको गल्ती नसच्याउने हठका कारण पतन भएका छन्। गगनजी, सच्याउने अवसर अझै तपाईंलाई छ,’ सिटौलाले भने।

विधि र प्रक्रिया मिचेर अघि बढ्दा त्यसको असर पार्टीसँगै सम्बन्धित व्यक्तिलाई समेत पर्ने उनको भनाइ थियो।

विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सिटौलाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि पनि असन्तुष्टि जनाए। उनका अनुसार विधि र प्रक्रिया पूरा नगरी विशेष महाधिवेशन गरिएको भन्दै आफूहरूले उठाएका विषयलाई बेवास्ता गर्दै आयोगले निर्णय गरेको थियो।

‘विधि र प्रक्रिया नपुर्‍याई विशेष महाधिवेशन गरेको कागज बोकेर गगन थापाहरू निर्वाचन आयोग पुगेपछि सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई सोध्दै नसोधी आयुक्तहरूले बहुमतका आधारमा निर्णय गरिदिनुभयो,’ उनले भने, ‘यो कसैको लहडमा गरिएको निर्णय जस्तो देखियो।’

सिटौलाले सर्वोच्च अदालतको पूर्ण इजलासबाट निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने डिभिजन इजलासको फैसला सच्याइने विश्वाससमेत व्यक्त गरे।

‘निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलामा अहिले पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको छ। पूर्ण इजलासले यो गल्ती सच्याउनेछ भन्ने मेरो विश्वास छ,’ उनले भने।

संविधान संशोधनका विषयमा बोल्दै सिटौलाले जनताको आकाङ्क्षाअनुसार विधि र प्रक्रियाबाट संविधान संशोधन गर्न सकिने बताए। दुई तिहाइ बहुमतको सरकार भएकाले चाहेमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ थियो।

जेनजी आन्दोलनपछि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गर्दै सिटौलाले यस्तो अवस्थामा नेपाली कांग्रेसभित्र एकता आवश्यक रहेको बताए। यद्यपि, पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषय भने चुनौतीपूर्ण बनेको उनको भनाइ थियो।

उनले विधि र पद्धतिको जगमा मात्रै कांग्रेसभित्र वास्तविक एकता सम्भव हुने धारणा राखे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी