नेपाली कांग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छ: प्रकाशमान सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुने बताएका हुन् ।

उद्घाटन सत्रमा बोल्दै नेता सिंहले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेर जस्ता संस्थापक नेताहरूले प्रजातान्त्रिक पद्धतिको सुदृढीकरणका लागि काँग्रेस स्थापना गरेको स्मरण गरे ।

पार्टीको आन्तरिक जीवनका बारेमा टिप्पणी गर्दै नेता सिंहले विधान र नियमावली मिचेर गरिने गतिविधिले संगठनलाई मजबुत बनाउन नसक्ने उल्लेख गरे । विगतमा भएका कतिपय निर्णय र विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै उनले सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस कांग्रेसले राख्नुपर्ने बताए ।

विधान मिचिएको विषयमा आवाज उठाउँदा पार्टी फुटाउन खोजेको भनी लगाइने आरोपको समेत उनले खण्डन गरे ।

उनले भने ‘साध्यमा पुग्नका लागि साधन पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य स्कुलिङ हो । हाम्रा नेताहरूले जे भन्नुहुन्थ्यो, व्यवहारमा पनि त्यही लागू गर्नुहुन्थ्यो । २००७ साल र २०१७ सालको कठिन परिस्थितिमा पनि उहाँहरू आफ्नो सिद्धान्तमा अडिग रहेकै कारण काँग्रेसले जनविश्वास आर्जन गरेको हो । पुराना दलहरूलाई गाली गरेर मात्रै देश चल्दैन, यो पछिल्लो केही महिनाको गतिविधिले प्रमाणित गरिसकेको छ । आज किसानले मल पाएका छैनन्, ग्यास र खाद्यान्नको मूल्य आकासिएको छ । जनताले के भोगिरहेका छन् भन्ने कुराको यथार्थ बुझ्ने पार्टी कांग्रेस नै हो ।’

वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा सिंहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’को भरमा मात्र देशको शासन सञ्चालन हुन नसक्ने तर्क गरे ।

कांग्रेसमाथि देशलाई संकटबाट बाहिर निकालेर सही मार्गमा लैजाने ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै नेता सिंहले पार्टीलाई संस्थागत र नियमसम्मत बनाउनु वर्तमान पुस्ताको कर्तव्य भएको बताए ।

सर्वोच्च अदालतको पछिल्लो फैसला र मार्गनिर्देशनपछि अब पार्टी विधिसम्मत रूपमा १४ औँ महाधिवेशनको प्रक्रिया टुङ्ग्याउँदै १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी