काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा अचानक हस्ताक्षर र मिति घोषणा गरेर पार्टीमा षड्यन्त्रपूर्वक चिरा पार्ने काम भएको आरोप लगाएका छन्।
कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले आक्रमणमा परी अस्पतालमा उपचाररत सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न महामन्त्रीद्वयबाट निरन्तर दबाब दिइएको दाबी गरे। आफूमा नेतृत्व ल्याउने उद्देश्यसहित ‘रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण’ जस्ता शब्द प्रयोग गरिएको उनको आरोप छ।
निधिले नेतृत्व परिवर्तन वा पुस्तान्तरणप्रति आफूहरूको विमति नरहेको, तर पार्टीका हरेक निर्णय विधिसम्मत, स्वाभाविक र मर्यादित ढङ्गबाट हुनुपर्ने बताए। नेतृत्वमा पुग्ने उद्देश्यले असमझदारी बढाउने र पार्टीका विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई विधिविपरीत पन्छाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।
प्रतिवेदनमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा अवैध ढङ्गले विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व कब्जा गर्ने रणनीति अघि सारिएको आरोप लगाइएको छ। यही प्रकरणबाट कांग्रेसलाई विभाजित गर्ने, एकलौटी कब्जा गर्ने र नेताहरूको तेजोवध गर्ने प्रयास सुरु भएको निधिको दाबी छ।
यस्तै, १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई पुनः अद्यावधिक गर्न दबाब दिइएको भन्दै निधिले त्यसलाई विधानविपरीत र दुराशयपूर्ण कार्य भएको बताएका छन्। एउटै महाधिवेशनका लागि दोहोरो सदस्यता नवीकरण आवश्यक नभएको भन्दै उनले ‘अद्यावधिकको पासो’ नथाप्न आग्रह गरेका छन्।
यसैबीच, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकोप्रति निधिले स्वागत गरेका छन्। अदालतको निर्णयले पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई कानुनी रूपमा टुंगो लगाउने बाटो खुलेको उनको भनाइ छ।





