काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विधान संशोधनको प्रस्ताव राखेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको जारी भेलामा विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र पेश गरेका हुन्।
पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समय सापेक्ष परिमार्जन गर्ने उल्लेख गरेका छन्। विशेष केन्द्रीय महाधिवेशन सम्बन्धमा हस्ताक्षर रुजु गर्ने, प्रमाणित गर्ने, महाधिवेशन आयोजना गर्ने विषयमा कार्यविधि समेतको स्पष्ट व्यवस्था गर्ने प्रस्ताव गरेका छन्।
उनले विशेष महाधिवेशनबारे पनि नयाँ प्रस्ताव पेश गरेका छन्।
प्रस्तावमा भनिएको छ, ‘केन्द्रीय महाधिवेशनको समयावधि समाप्त हुन भन्दा कम्तीमा ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुनुभन्दा कम्तीमा ६ महिना वा सो भन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गरिने छैन भन्ने व्यवस्था गर्ने ।’
विभिन्न तहका कार्यसमितिमा आवश्यकता अनुसार पदाधिकारीको सङ्ख्या वृद्धि गर्न सकिने व्यवस्था गर्ने र त्यसरी वृद्धि भएको सङ्ख्यामा महिला ,युवा तथा तत् स्थानको जनसङ्ख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि उल्लेख छ।





