विमानस्थलमा पटक–पटक जाँच गरेको भन्दै ओली आक्रोशित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक सुरक्षा जाँच गरिएको भन्दै आपत्ति जनाएका छन्।

इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले विमानस्थलमा मेटल डिटेक्टर प्रयोग गरेर शरीरमा पटक–पटक खानतलासी गरिएको गुनासो गरे। उनले आफूलाई अपराधी वा तस्करजस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘मेटल डिटेक्टर लगाएको छ, यो गर्‍या छ, उ गर्‍या छ। के निकाल्न खोज्या? के बरामद गर्न खोज्या?’ ओलीले प्रश्न गरे।

उनले काठमाडौं र भद्रपुर विमानस्थलमा समेत पटक–पटक मेटल डिटेक्टरबाट जाँच गरिएको बताए। एउटा स्थानमा जाँच गरिसकेपछि फेरि अर्को स्थानमा जाँच गर्ने गरिएको भन्दै उनले यस्तो प्रक्रियामाथि प्रश्न उठाए।

‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट। के खोज्या हो?’ ओलीले भने, ‘न मसँग १९० तोला सुन छ, न कतै लुकाएको केही छ।’

ओलीले विमानस्थलमा आफ्नो शरीर जाँच्नमा कडाइ गरिए पनि सीमाबाट हुने ठूलो परिमाणको तस्करी नियन्त्रणमा भने पर्याप्त ध्यान नदिइएको आरोप लगाए।

‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछ,’ उनले भने।

विमानस्थलमा गरिएको सुरक्षा जाँचप्रति ओलीले यसअघि पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाइसकेका छन्। गत माघमा पनि उनले आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी