काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
तीन दिनसम्म चलेको समूहको सम्मेलनले धर्मसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउने प्रस्ताव पारित गरेको हो।
यसअघि नेपाली कांग्रेसले नेपालमा धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राख्दै आएको थियो। तर, देउवा समूहको सम्मेलनबाट भने धार्मिक स्वतन्त्रतासँगै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय स्पष्ट रूपमा उठाइएको छ।
समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, “नेपालको सनातनदेखि चली आएको धर्म–संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो।” प्रस्तावमा नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चिततासँगै हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ।
यी धर्म तथा संस्कृतिको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता प्रस्तावमा व्यक्त गरिएको छ।
सम्मेलनमा कांग्रेस नेता शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका थिए। यद्यपि, उनले सबै धर्म मान्ने नागरिकको स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।
देउवा समूहको यो प्रस्तावले कांग्रेसभित्र धर्म र राष्ट्रिय पहिचानको विषयलाई लिएर नयाँ बहस सिर्जना गर्ने देखिएको छ।





