ओलीले भने– ‘अहिले एमालेमा पुनर्गठन होइन, पुनःजागरणको बेला हो’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पार्टी पुनर्गठनको समय नभएको बताएका छन्। उनले एमालेमा पुनर्गठनको चर्चा ‘सडक छापका कुरा’ भएको टिप्पणी गर्दै अहिले ‘पुनःजागरण’ आवश्यक रहेको बताए।

झापाको बिर्तामोडबाट सुरु भएको एमालेको ‘मिसन पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले पार्टीको विगतका पुनर्गठनका प्रसंग उल्लेख गर्दै अहिलेको अवस्थालाई त्यससँग तुलना गर्न नमिल्ने बताए।

ओलीले पहिलो पटक २०१९ सालमा पार्टी पुनर्गठन भएको र २०२८ सालको पुनर्गठन आफूहरूले गरेको दाबी गरे। उनका अनुसार २०७७–७८ सालमा पनि आफ्नै नेतृत्वमा पार्टीको पुनर्गठन भएको थियो।

उनले एमाले विभाजनको विगत सम्झाउँदै पार्टीलाई कमजोर बनाउने प्रयास भए पनि आफूहरूले पार्टीलाई पुनः मजबुत बनाएको दाबी गरे।

‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ,’ ओलीले भने, ‘२०७५ सालको पार्टी एकतापछि झन्डै दुई तिहाइको पार्टी बनायौँ। त्यही बेला केही घुसपैठिया र कुण्ठाग्रस्त प्रवृत्तिले पार्टी टुक्र्याए।’

ओलीले आफूलाई विगतमा पनि पार्टीबाट हटाउने प्रयास भएको दाबी गरे। सीपी मैनाली र आरके मैनालीहरूले षड्यन्त्र गर्दा २०२९ देखि २०३३ सालसम्म आफ्नो पार्टी सदस्यता नरहेको र जेलमा रहँदा पुनः सदस्यता प्राप्त गरेको उनले बताए।

उनले एमालेमा नेपालका सबै जातजाति, भाषा, भूगोल र समुदायको प्रतिनिधित्व रहेको दाबी गरे। पार्टीमा नयाँदेखि पुराना पुस्तासम्मका नेता–कार्यकर्ता रहेको उल्लेख गर्दै एमालेले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला मुख्यमन्त्री बनाएको पनि बताए।

‘पुनर्गठन होइन, पुनःजागरण’

ओलीले अहिलेको अवस्थामा कुनै कमिटी वा जनवर्गीय संगठनको पुनर्गठन आवश्यक हुन सक्ने भए पनि विगतमा भएका पुनर्गठनजस्तो अवस्था नरहेको बताए।

‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, संघर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो,’ उनले भने, ‘आज हामी पुनर्गठनको बेला होइन। पुनःजागरणको कुरा हो।’

पार्टी सदस्यताभन्दा कम मत प्राप्त भएको विषय गम्भीर भएको भन्दै ओलीले अब वास्तविक सदस्यता नवीकरण र संगठनको पुनःजागरण आवश्यक रहेको बताए।

‘नयाँ सदस्य थप्ने, नयाँ बनाउनुहोस्,’ उनले भने, ‘रुखमा पलाएजति सबै पात अडिन्छन् भन्ने छैन। झर्ने र फेरि पलाउने हुन्छ। हाम्रो पार्टीमा केही पुराना झरे पनि एमालेको वृक्ष सधैँ झपक्क लागिराखेको हुन्छ।’

नेतृत्व परिवर्तनबारे सामाजिक सञ्जालमा अभियान चलाएकोप्रति आपत्ति

ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा सामाजिक सञ्जालमा स्टाटस लेख्ने र हस्ताक्षर अभियान चलाउने गतिविधिप्रति पनि कडा आपत्ति जनाए।

उनले अध्यक्ष हटाउनुपर्ने धारणा भए पार्टीभित्रै छलफल गर्न सकिने तर सामाजिक सञ्जाल र हस्ताक्षर अभियानमार्फत नेतृत्व परिवर्तन खोज्नु अनुशासनहीनता र अराजकता भएको बताए।

‘अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने हुन्छ? त्यो अनुशासनहीनता हो। अराजकता हो,’ ओलीले भने।

पार्टीमा लोकतान्त्रिक अभ्यास रहेको भन्दै उनले आलोचना र असहमति राख्न पाइने तर त्यसका लागि विधि र प्रक्रिया पालना गर्नुपर्ने बताए।

‘पार्टीमा डेमोक्रेसी छ,’ ओलीले भने, ‘पार्टीमा कुरा गर्न पाइन्छ। पार्टीका विचार ठीक छैन भन्ने लागे पार्टीमै कुरा गर्न पाइन्छ। बाहिर विरोधीका लागि हाँसोको विषय बनाउनु हुँदैन।’

उनले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूको अवस्थाबारे टिप्पणी गर्दै अवसर पाएका केही व्यक्ति नै असन्तुष्ट रहेको दाबी गरे।

‘कोही मालिक र कोही दास छैनन्’

ओलीले आफूले पार्टीका नेता–कार्यकर्तालाई हप्काएको भन्ने प्रचारप्रति पनि आपत्ति जनाए।

‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ,’ उनले भने, ‘मैले जीवनमा अहिलेसम्म कडा वचन, कडा स्वर कहिल्यै कसैलाई भनेको थिएँ भने हात उठाएर भन्नुहोस्।’

उनले आफूले कसैलाई हप्काउने काम नगरेको दाबी गर्दै पार्टीमा कोही मालिक र कोही दास नभएको बताए।

‘कोही मालिक र कोही दास छैनन्। कोही हप्काउने, कोही हप्की खाने छैनन्,’ ओलीले भने।

आफूमाथि पनि आलोचना गर्न पाइने भन्दै ओलीले आफू आलोचना सुन्न तयार रहेको बताए। तर पार्टीका माथिल्लो तहका नेताले अझ बढी जिम्मेवार व्यवहार र आचरण देखाउनुपर्ने उनको भनाइ थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्