काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई नेताका रूपमा अघि बढाउने निर्णय गरेको छ।
काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि अघि बढाउने जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको हो। भेलाको संयोजकसमेत रहेका कोइरालालाई अब १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने जिम्मेवारी दिइएको छ।
राष्ट्रिय भेलाले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।
प्रस्तावमा शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर महाधिवेशन सम्भव हुने विश्वास व्यक्त गरिएको छ।
प्रस्तावमा भनिएको छ, ‘१५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ।’
यो निर्णयसँगै यसअघि इतर समूहको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्काको भूमिका कमजोर बनेको देखिएको छ। खड्का तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा समेत सहभागी भएनन्।
यसअघि सभापति देउवाले राजनीतिक विश्राम लिने घोषणा गरेपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका थिए। त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा अनौपचारिक विभाजनको अवस्था सिर्जना भएको थियो।
त्यसक्रममा इतर समूहको नेतृत्व खड्काले गर्दै आएका थिए। पछिल्लो राष्ट्रिय भेलाबाट भने उक्त समूहले डा. शशांक कोइरालालाई अघि बढाउने निर्णय गरेको हो।





