नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृति र संस्कारको संरक्षणका लागि आफ्नो पार्टी अविचलित रूपमा अघि बढ्ने बताएका छन्।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा भइरहेका गलत गतिविधिको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिए।
देश नेपालीहरूको भएकाले यसलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पनि सबै नागरिकको रहेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै ओलीले हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे।
एमाले हारपछि मैदान छोडेर भाग्ने पार्टी नभएको दाबी गर्दै उनले एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने बताए। जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै अन्ततः विजयी हुने उनको भनाइ थियो।
एमाले जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टी परिस्थितिबाट भाग्ने नभई चुनौतीसँग जुध्दै अघि बढ्ने शक्ति भएको बताए।
देशको सभ्यता, संस्कार र संस्कृतिलाई पुनर्जीवित गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको पनि अध्यक्ष ओलीले स्पष्ट पारे।





