काठमाडौं । प्रतिनिधिसभाको आकस्मिक समयमा चुनावको विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेललाई रोकेका छन्।
आकस्मिक समय लिएर बोल्दै सांसद खरेलले रास्वपाले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ सुरु गरेको विषय उठाएका थिए। उनले यसका लागि पार्टीलाई धन्यवादसमेत दिए।
प्रदेशसभा र संघीय संसद्सँग सम्बन्धित विषय राख्न खोजेपछि सभामुख अर्यालले उक्त विषय आकस्मिक समयअन्तर्गत नपर्ने भन्दै उनलाई बस्न आग्रह गरे।
सभामुख अर्यालले अघिल्लो बैठक र सुरु हुन लागेको बैठकबीच भएको कुनै गम्भीर घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन आकस्मिक समय प्रयोग गर्न सकिने बताए।
प्रतिनिधिसभा नियमावलीको नियम १५ मा आकस्मिक, शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ। नियमअनुसार आकस्मिक समयमा उठाइने विषय तत्कालीन र गम्भीर प्रकृतिको हुनुपर्ने भएकाले सांसद खरेलले उठाएको चुनावसम्बन्धी विषय आकस्मिक समयअन्तर्गत नपर्ने सभामुखको भनाइ थियो।





