लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ मत आवश्यक थियो।

मतदानमा ७१ जना सांसद सहभागी भएका थिए। आचार्यलाई नेकपा एमालेका २९, नेकपाका ११, जनता समाजवादी पार्टी नेपालका ४ र राष्ट्रिय जनमोर्चाका १ सांसदले समर्थन गरेका छन्।

सभामुख तुलाराम घर्तीमगरले पक्षमा परेको ४५ मत बहुमत भएकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।

प्रदेशसभामा कांग्रेस र जनमत पार्टी विपक्षमा छन् भने राप्रपा तटस्थ रहेको छ। एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन्।

जसपा नेपाललाई पार्टी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि आचार्यलाई विश्वासको मत जुटेको हो। चार जना जसपा सांसदले समर्थन नगरेको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने अवस्था थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्