काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा जिल्ला भ्रमणमा ननिस्कन आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गेलालले मन्त्रीहरूलाई देश घुम्नेभन्दा जनताका समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन्।
उनले मन्त्रीहरूलाई मन्त्रालयमै बसेर नीति बनाउन, निर्णय गर्न र कर्मचारीको मनोबल उच्च बनाउन सुझाव दिए।
गेलालले १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय सम्बन्धित सांसदहरूले उपलब्ध गराउन सक्ने भन्दै जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको बताए।
जनता ग्यास, मल, सञ्चार, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि समस्यामा रहेको उल्लेख गर्दै उनले मन्त्री र सर्वसाधारणले पाउने सुविधाबीचको अन्तरमाथि पनि प्रश्न उठाए।
“मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन,” उनले भने।
पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी भएपछि हेलिकप्टरमार्फत धनगढी र त्यहाँबाट सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको घटनातर्फ संकेत गर्दै गेलालले यस्तो टिप्पणी गरेका हुन्।
मन्त्रीहरूले जिल्ला पुगेर भिडियो बनाएर प्रचार गर्दैमा जनता खुसी नहुने भन्दै उनले भने, “देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस्।”
पछिल्लो समय मन्त्रीहरू जिल्ला भ्रमणमा रहेका बेला रास्वपाकै सांसदबाट मन्त्रीहरूको कार्यशैली र जिल्ला दौडाहाप्रति प्रश्न उठेको हो।





