काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सामान्य स्वास्थ्य समस्यापछि सेनाको हेलिकप्टर र स्काईट्रक प्रयोग गरेर काठमाडौं फर्किएको विषयमा प्रश्न उठेको छ।
लामो समयदेखि जिल्ला भ्रमणमा रहेका मन्त्री लम्साल साउन ३० गते आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी पुगेका थिए। बैतडी पुगेपछि उनी अत्यधिक थकित देखिएपछि चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो।
बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार मन्त्री लम्साललाई जिल्लामै चिकित्सक बोलाएर जाँच गरिएको थियो। तर, तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्था भने नरहेको बताइएको छ।
मन्त्रीका सचिवालय सदस्यहरूले भने लामो यात्राका कारण शरीर दुख्ने, अत्यधिक थकान, ज्वरो र बान्ता हुने समस्या देखिएपछि काठमाडौं फर्किने निर्णय गरिएको दाबी गरेका छन्।
लम्सालले तत्काल काठमाडौं फर्किन चाहेपछि सेनाको हेलिकप्टरमार्फत बैतडीबाट धनगढी लगिएको थियो। त्यसपछि सेनाकै स्काईट्रकमार्फत काठमाडौं ल्याइएको थियो।
काठमाडौं आएपछि लम्साल छाउनीस्थित सैनिक अस्पताल पुगे पनि भर्ना भने भएनन्। उनी त्यहाँबाट आफ्नै निवास फर्किएका थिए। सचिवालयका अनुसार उनलाई पाँच दिनका लागि सामान्य औषधि दिइएको छ र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मन्त्रीका स्वकीय सचिव प्रतीक श्रेष्ठले अत्यधिक थकानका कारण लामो दूरी गाडीमा यात्रा गर्न कठिन हुने भएपछि सेनाको सहयोग लिइएको बताएका छन्। उनका अनुसार आत्तिनुपर्ने अवस्था नरहेको र अहिले मन्त्री लम्साल सामान्य अवस्थामा छन्।
तर, सामान्य स्वास्थ्य अवस्थाका लागि पनि सेनाको हेलिकप्टर र स्काईट्रक प्रयोग गरिएको भन्दै प्रश्न उठेको छ। बैतडी र धनगढीमै उपचारको सुविधा हुँदाहुँदै मन्त्रीलाई काठमाडौं ल्याउन राज्यको स्रोतसाधन प्रयोग गरिएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले विरोध जनाएका छन्।
मन्त्री लम्सालको स्वास्थ्य अवस्था र सेनाको स्रोतसाधन प्रयोगबारे सामाजिक तथा राजनीतिक तहमा समेत प्रश्न उठेको छ।





