भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । यही भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति तोकेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने व्यवस्था छ।

कुनै कारणले तोकिएको दिन बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ।

तर, उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै प्रश्न उठिरहेका बेला सभामुखले भदौ १० गतेका लागि प्रत्यक्ष प्रश्नोत्तरको मिति तोकेका हुन्।

नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिनेछ।

प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्नेछ। प्राप्त प्रश्न स्वीकारयोग्य भए वा नभएको निर्णय सभामुखले गर्ने व्यवस्था छ।

यस्तै, प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा कुनै छलफल नगरिने व्यवस्था पनि नियमावलीमा रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्