काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङको व्यवहारप्रति उनकै पार्टीकी सांसद स्मृति सेन्चुरीले आलोचना गरेकी छन् । उनले सभामुखको आग्रह बेवास्ता गर्दै रिसाएर सदनबाट बाहिरिनु संसदीय मर्यादाविपरीत भएको बताएकी छन् ।
सेन्चुरीले सामाजिक सञ्जालमार्फत आशिकाको आलोचना गर्दै सभामुख सम्पूर्ण सदनको सम्मानित नेतृत्व भएकाले आफ्नो कुरा राख्ने अधिकार भए पनि सभामुखको आग्रहलाई बेवास्ता गर्न नहुने बताएकी छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसँगको प्रश्नोत्तरका क्रममा जवाफ चित्त नबुझेपछि आशिकाले पूरक प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुखले उनलाई रोक्दै संसदीय मर्यादा कायम राख्न आग्रह गरेपछि उनी रिसाएर सदनबाट बाहिरिएकी थिइन् ।
सेन्चुरीले लोकतन्त्रमा आवाज ठूलो बनाएरभन्दा आचरण राम्रो बनाएर सम्मान प्राप्त हुने धारणा व्यक्त गरेकी छन् ।




