काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै आफू हिन्दु भएको बताएका थिए । सो भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी पाँचबुँदे निर्णयसमेत गरेको थियो । त्यसतर्फ संकेत गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए ।
प्रचण्डले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाउँदै कार्यकर्तालाई सडक आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । उनले सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा मिडियामाथि प्रहार गरी आवाज दबाउने काम भइरहेको आरोप लगाए ।
उनले रास्वपा नेतृत्वको सरकारविरुद्ध छिट्टै आन्दोलनको अपिल गर्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
यसैबीच, नेकपा एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थीबीच सहकार्यको ढोका खोले पनि केपी शर्मा ओलीको प्रवृत्ति यथावत् रहेसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे । दीर्घकालीन रूपमा वामपन्थी एकताको पक्षमा आफूहरू रहेको भन्दै उनले अहिलेका लागि भएको सहमति कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतान्त्रिक–गणतन्त्र पक्षधर शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ गर्दै आगामी अधिवेशनबाट सानो, चुस्त र व्यवस्थित संगठन निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।




