काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी बढ्दै गएपछि लामिछानेले बुधबार उनीहरूसँग छलफल गरेका हुन् ।
पार्टी संसदीय दलको कार्यालयमा जारी बैठकमा सरकार र सांसदहरूबीच पछिल्लो समय देखिएको असमझदारी तथा पार्टीका गतिविधिबारे समीक्षा भइरहेको एक सांसदले जानकारी दिए ।
सांसदहरूले संसद्मा बोल्ने भाषा र सार्वजनिक गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको भन्दै पार्टीभित्र असमझदारी बढेको बताइएको छ ।
यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए ।
सभामुखले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन् ।





