काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच कर्णाली प्रदेश सरकारको मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।
दुवै दलका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिनेछ ।
त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।
सहमतिपत्रमा प्रशासनिक संरचना सुधारका लागि यसअघि भएका निर्णय कार्यान्वयन गर्दै बाँकी कामलाई निरन्तरता दिने उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्दा प्रदेशसभामा रहेका दलहरूबीच भएको सहमतिलाई आधार बनाउने तथा ३० लाख रुपैयाँभन्दा माथिका योजना ठेक्का प्रक्रियामार्फत सञ्चालन गर्ने नीति पनि कायम राखिनेछ ।
नयाँ नीति तथा कार्यक्रम, मनोनयन र नियुक्तिका विषयमा दुवै दलबीच आपसी सहमति भएपछि मात्र प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी सञ्चालन गर्ने प्रतिबद्धता पनि दुई दलले व्यक्त गरेका छन् ।





