काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेर्नेबारे कुनै तयारी वा छलफल नभएको स्पष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले मन्त्रीहरूले धेरै काम गर्दा केही विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए ।
‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक–दुई–पाँच काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिँदैन,’ उनले भने ।
रास्वपाभित्र आफ्नै दलका मन्त्री भए पनि आवश्यकताअनुसार प्रश्न उठाउँदै आएको उनको भनाइ छ ।
‘रास्वपाभित्र आफ्नै दल भएता पनि हामी प्रश्न सोध्दै आएका छौं । यसैलाई सम्बोधन गर्न हामीले छलफल राखेका हौं । कुनै मन्त्री फेर्ने तयारी पनि छैन । कुनै छलफल पनि छैन,’ लामिछानेले बताए ।





