बादलको ‘बालेन्द्रतन्त्र’ अभिव्यक्तिप्रति बास्कोटाको आपत्ति, रेकर्डबाट हटाउन माग

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले संसदमा प्रयोग गरेको ‘बालेन्द्रतन्त्र’ लगायतका शब्दप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बादलले वर्तमान शासन व्यवस्थालाई ‘बालेन्द्रतन्त्र’ भन्दै पूर्वराजा महेन्द्र र ज्ञानेन्द्रको शासनसँग तुलना गरेका थिए । उक्त अभिव्यक्तिप्रति बास्कोटाले प्रतिनिधिसभा नियमावलीको नियम २१ को (घ) तथा संविधानका सम्बन्धित धाराको व्यवस्था उल्लेख गर्दै आपत्ति जनाएकी हुन् ।

बास्कोटाले राजनीतिक दल खोल्ने स्वतन्त्रता नागरिकको मौलिक हक भएको भन्दै कुनै पनि दल कसैको निजी ठेक्का नभएको बताइन् । नागरिकले दिएको मतबाट आफूहरू संसदमा पुगेको र त्यही मतबाट सरकार गठन भएको उनको भनाइ थियो ।

‘विपक्षी दलका नेताहरूले पटक–पटक यही सदनबाट मतदाताको अपमान र लोकतन्त्रको उपहास गरिरहनुभएको छ,’ उनले भनिन् ।

बादलले प्रयोग गरेको ‘बालेन्द्रतन्त्र’ शब्द अश्लील, अपमानजनक र आपत्तिजनक रहेको दाबी गर्दै बास्कोटाले संसदमा मर्यादित र संवैधानिक शब्द प्रयोग गर्न आग्रह गरिन् ।

उनले संविधानको धारा ७६ बमोजिम सरकार गठन भएको उल्लेख गर्दै बादललाई संविधान पढ्नसमेत आग्रह गरिन् । साथै, बादलले प्रयोग गरेका असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन माग गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी