सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट तीन जना मन्त्री शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले टेकराज पछाई, जितबहादुर मल्ल र कलबहादुर हमाललाई शपथ गराएका हुन् । पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय, मल्लले सामाजिक विकास मन्त्रालय र हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा सहमति भएपछि करिब तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको हो ।
सहमति अनुसार एमालेको भागमा तीन मन्त्रालय परेका थिए। त्यसैअनुसार एमालेले तीन मन्त्री सरकारमा पठाएको हो। यता नेकपाको भागमा परेका तीन मन्त्रालयमा भने अहिलेसम्म मन्त्री नियुक्त भएका छैनन्। मन्त्रालय बाँडफाँटमा सहमति हुन नसक्दा यसअघि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि बुधबार नै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो। सहमतिपछि सरकार विस्तारको बाटो खुलेको हो।





