प्रतिनिधिसभाको दुई तिहाइले मात्र संविधान संशोधन हुँदैन : रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवेदनशील विषयमा आरोप र शंकाका आधारमा धारणा बनाउनुको सट्टा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै छापामा आएका विषय, आरोप, अदालतमा विचाराधीन मुद्दा तथा कसैले बयानका क्रममा नाम लिएको विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए ।

संवेदनशील विषयमा प्रश्न उठाउँदा सम्बन्धित व्यक्ति मात्र नभई राज्यका संवैधानिक निकाय र संस्थाको प्रतिष्ठालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन। प्रमाणहरू यति बलियो होउन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस् ।’

समितिमा प्रस्तुत गरिने विषय तथ्य, प्रमाण, कानून र संविधानको आधारमा राख्नुपर्ने बताए। संवेदनशील समितिको गरिमा कायम राख्दै त्यहाँ प्रस्तुत गरिएका विषयलाई पछि चुनौती दिन नसक्ने गरी तथ्यपरक ढङ्गले राख्नुपर्ने बताए ।

संविधान संशोधनका विषयमा प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताए। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि आफूहरू दुई तिहाइ पुर्‍याउन तयार रहेको बताएका थिए।

त्यसको जवाफ दिँदै उनले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुई तिहाइले हुन सक्दैन। यी लगायतका कुराहरूलाई हामीले अवश्य ध्यान दिनुपर्छ।’

उनले स्पिरिटका लागि सरकारलाई सघाउँछौँ भन्ने कुराको स्वागत गरे। संवैधानिक निकायमा नियुक्तिको प्रक्रियालाई संविधानमा व्यवस्था भएअनुसार अधिकतम मेरिटका आधारमा अघि बढाउनुपर्ने बताए।

कुनै व्यक्तिसँग असहमति वा विवाद भएकै आधारमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्न सक्ने उनको भनाइ छ।

लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थाहरूलाई व्यक्तिप्रतिको असन्तुष्टिका कारण कमजोर बनाउन नहुने बताए। संस्थाको विश्वसनीयता शून्यमा पुगे लोकतान्त्रिक प्रणाली कमजोर हुने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्