रास्वपाको केन्द्रीय समिति बैठक आज, के छन् एजेन्डा?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची छ।

बैठकमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा-२०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुनेछ।

यस्तै, ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका विषयमा पनि छलफल हुने महामन्त्री आचार्यले बताए।

सांगठनिक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुखहरूको मनोनयन गर्ने विषय बैठकको कार्यसूचीमा राखिएको छ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनसम्बन्धी प्रस्तावमाथि पनि बैठकमा छलफल हुनेछ।

त्यसैगरी, पार्टीको योजना, कार्यक्रम तथा अभियानअन्तर्गत स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ।

केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी र त्यसको कार्ययोजनाबारे बैठकले निर्णय गर्नेछ।

रास्वपाले आफ्नो मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा समेटेको छ।

पार्टीका गतिविधि, नीति, कार्यक्रम तथा विचारलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि छलफल हुने बताइएको छ।

स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार, उम्मेदवार छनोटको प्रक्रिया तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी बाँडफाँटलाई अघि बढाउने तयारीस्वरूप बैठकमा सांगठनिक र राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने रास्वपाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्