प्रधानमन्त्री बालेन शाह पोखरा हुँदै मुस्ताङ जाँदै, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौं‌बाट पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।

समाचार तयार पार्दासम्म प्रधानमन्त्री शाह सवार गाडी धादिङ पुगेको थियो । उनी शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । तर, प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई भने हालसम्म औपचारिक जानकारी गराइएको छैन ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।

‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ, तर उहाँ आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन,’ पासवानले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए । प्रहरीले भने भ्रमणबारे आफूहरूसँग जानकारी मागेको उनको भनाइ छ ।

प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको बताइए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन । मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे कुनै जानकारी नआएको बताए । यद्यपि, प्रधानमन्त्रीको सुरक्षा व्यवस्थापन गर्न समस्या नरहेको उनको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अपराह्न पोखरा पुग्नेछन् । पोखरा पुगेपछि उनले कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी रहेको बताइएको छ । प्रधानमन्त्रीका लागि उक्त रिसोर्ट बुक भइसकेको स्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी