काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन् ।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
बागमतीमा नयाँ सत्ता समीकरणअनुसार एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते बिहीबार थापामगर मुख्यमन्त्री नियुक्त भएका थिए ।





