काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन ।
संस्थापन पक्षले एकलौटी रूपमा अघि बढाएको पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टाछुट्टै रिट पेस गरेका थिए ।
दिउँसो खाजा समयपछि पेस गरिएका दुवै रिटको अध्ययन शुक्रबार नै पूरा नभएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो । सर्वोच्च प्रशासनले रिट पेस गर्ने पक्षलाई सोमबार पुनः आउन भनेको छ ।
निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल उपस्थित थिएनन् । महत्त्वपूर्ण रिट भएकाले प्रशासनका प्रमुख तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा दर्ता प्रक्रिया अघि नबढाइएको स्रोतको भनाइ छ ।
देउवा र खड्काले वारेसमार्फत रिट सर्वोच्चमा पेस गरेका थिए । देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार वारेस बनेका थिए ।
रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ ।





