इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, पेट्रोलियम पदार्थको मूल्य घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , ३१ असार । नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।

निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने नियमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ ।

हवाई इन्धन अन्तर्गत आन्तरिक तर्फ २३.८१ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्