काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो। यसअघि अगस्टको दोस्रो साता हुने भनिएको भ्रमण एक महिनापछि सारिएको थियो। तर सेप्टेम्बरको दोस्रो साता पनि लामिछाने चीन नजाने भएका छन्।
स्रोतका अनुसार अब रास्वपाका सांसदहरूको टोली मात्र चीन जानेछ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तयारी भएको थियो।
सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन्। यद्यपि, त्यसको मिति भने हाल तय भएको छैन।
यसैबीच, रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले छिट्टै भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनको उच्च तहमा भेटवार्ता हुने बताइएको छ।





