काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट धारणा बनाउन यस्ता छलफल महत्त्वपूर्ण हुने बताए।
‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,’ उनले भने।
आजको छलफलबाट पार्टीका नेता–कार्यकर्ताले थप जानकारी प्राप्त गर्ने र आगामी दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन सहयोग पुग्ने थापाले बताए।
कार्यक्रममा उठाइएका विषय तथा प्राप्त सुझावलाई संसदमा प्रभावकारी रूपमा प्रस्तुत गरिने पनि उनले बताए।





