डा. बाबुराम भट्टराईको चरित्रहत्या गर्ने प्रयास भएको भन्दै कारबाहीको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पुराना भिडियो तथा अभिव्यक्तिहरू तोडमरोड गर्ने, भ्रामक तस्बिर र पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने तथा धार्मिक घृणा फैलाउने गतिविधि भइरहेकोप्रति सचिवालयले आपत्ति जनाएको हो।

धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभई राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुका साथै प्रत्येक नागरिकको आस्थाको स्वतन्त्रता सुनिश्चित गर्नु रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। त्यसैगरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएकाले यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित रहेको सचिवालयको भनाइ छ।

हिन्दु धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताका विषयमा भइरहेको बहसलाई केही हिन्दुवादी समूहले पूर्वाग्रहपूर्ण ढङ्गले प्रचारको विषय बनाउनु दुःखद रहेको सचिवालयले जनाएको छ। कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु, आलोचनात्मक बहस गर्नु र सुधारका पक्षमा आवाज उठाउनु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको जनाइएको छ।

डा. बाबुराम भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड र भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्नु गैरजिम्मेवार व्यवहार भएको भन्दै पछिल्लो समय धम्कीपूर्ण सामग्री पोस्ट गर्ने र भ्रामक भाष्य निर्माणमा सक्रिय हुनेहरूप्रति घोर आपत्ति प्रकट गरिएको छ। यस्ता गतिविधिले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामै गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।

सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले फैलाइएका भ्रामक सामग्रीबाट सतर्क रहन आम नागरिकमा अपिल गरेको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाउनसमेत अनुरोध गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी