राप्रपाद्वारा मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

मकवानपुर, भदौ ८ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन प्रदेश सभा सदस्यलाई निर्देशन दिनुभएको हो।

राप्रपाकी प्रमुख सचेतक तामाङद्वारा जारी ह्विपमा मुख्यमन्त्री थापाको विश्वासको मतको प्रस्तावमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन निर्देशन दिइएको छ।

राप्रपाका प्रदेश सभा सदस्य एवं पूर्वप्रदेश सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी केन्द्र र प्रमुख सचेतकबाट ह्विप जारी भएको बताउनुभयो।

यता, राप्रपामा प्रदेश संसदीय दल र पार्टी केन्द्रबिच विवाद रहेको छ। केन्द्रको निर्णयविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुने निर्णय गरेपछि पार्टीभित्र विवाद देखिएको हो।

नेकपा (एमाले) का थापा नेतृत्वको सरकारमा राप्रपाका तीन जना प्रदेश सभा सदस्य गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्रीका रूपमा सहभागी हुनुभएको छ।

राप्रपा केन्द्रीय अनुशासन समितिले संसदीय दलका नेतासहित सरकारमा सहभागी मन्त्रीहरूलाई कारबाही तथा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ।

एमाले नेतृत्वमा सरकार निर्माण हुँदा केन्द्रको निर्णय र सहमतिविना राप्रपाका संसदीय दलका नेता थापाले समर्थन जनाएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सभामा राप्रपाका १२ जना प्रदेश सभा सदस्य रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्