कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेस विपक्षमा र राप्रपा तटस्थ बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ। कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतको मतदानमा तटस्थ बस्ने भएको छ। राप्रपा संसदीय दलकी प्रमुख सचेतक सविना बजगाईंले आफ्नो पार्टीले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने निर्णय गरेको बताइन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गएको सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ। गएको साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए।

त्यतिबेला एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ प्रदेशसभा सदस्यले कार्कीलाई विश्वासको मत दिएका थिए।

एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए। त्यसबेला कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ प्रदेशसभा सदस्य सहभागी भएका थिए।

कोशी प्रदेशसभामा ९२ सदस्य छन्। जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य छन्। यस्तै, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी