पद्मा अर्यालको प्रश्न– ‘मानिसमा यस्तो पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट आयो?’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई आधार बनाएर यस्ता अपराध किन भइरहेका छन् भन्नेबारे गम्भीर अध्ययन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अर्यालले अपराधीलाई यस्तो जघन्य अपराध गर्ने साहस कहाँबाट प्राप्त भइरहेको छ भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताइन्।

‘बारामा बालिकाको क्रुर हत्या भएको छ। म निन्दा गर्दछु। अनुसन्धानका लागि सुरक्षा निकाय लागेको छ। केही मानिस अनुसन्धानमा तानिएका छन्। दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ,’ उनले भनिन्।

उनले यौन अपराधमा संलग्न व्यक्तिको प्रवृत्तिबारे अध्ययन गर्नुपर्ने बताउँदै समयमै प्रभावकारी कारबाही हुन नसके यस्ता घटना बढ्न सक्ने चेतावनी दिइन्।

‘यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ,’ उनले भनिन्।

अर्यालले निर्मला पन्तसहितका विगतका घटनालाई समेत स्मरण गर्दै यस्ता घटना दोहोरिनुको कारणबारे गम्भीर अध्ययन र अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

‘यस्ता घटना किन घट्छन्, गम्भीर अध्ययन र अनुसन्धान गर्नुपर्छ। प्रतिवेदन तयार पारेर कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ,’ उनले भनिन्।

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै अर्यालले सरकारको ‘खुट्टा लुलो हुन थालेको’ आरोप लगाइन्। आफूहरूले उठाएका विषय प्रतिपक्षी दलका मात्र नभई आम नागरिकका विषय भएको उनको भनाइ थियो।

उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र किसानले समयमै मल नपाएको विषयमा समेत सरकार गम्भीर बन्न नसकेको भन्दै उनले आपत्ति जनाइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्