प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको छ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पारित भएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। दुवै प्रस्ताव सदनले स्वीकृत गरेको छ।

अब चारवटै विधेयकमाथि सम्बन्धित संसदीय समितिमा सांसदहरूले दिएका संशोधन तथा प्रस्तावमाथि विस्तृत छलफल हुनेछ। समितिले छलफलपछि विधेयकको प्रतिवेदन तयार गरी सदनमा पेस गर्नेछ।

यसैबीच, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित गरेका छन्।

सोमबारको बैठकको सुरुवातमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी