काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेका सातवटा शब्द संसद्को अभिलेखबाट हटाइएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुवै सांसदले प्रयोग गरेका अमर्यादित तथा अनावश्यक शब्द अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सभामुख अर्यालले भदौ १ गतेको बैठकमा सांसद राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द अभिलेखबाट हटाउन निर्देशन दिए।
त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।
सभामुखले संसद्को मर्यादा कायम राख्न अमर्यादित तथा अनावश्यक शब्द प्रयोग नगर्न सांसदहरूलाई सचेत गराएका छन्।





