लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारी पनि हेरफेर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित थिए।

साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो।

मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी नेपालबाट दुई जना मन्त्री रहनेगरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी